काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता स्थापित भए अर्को चुनावमा बहुमत प्राप्त गर्ने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र एकता जरुरी रहेकोमा जोड् दिनुभयो ।
‘सबै जातजातिको प्रतिनिधित्व गर्ने काम यो संविधानले गरेको छ । यो संविधान बनाउन हामी लागेका पनि हौं । त्यही पनि पार्टी एक भएर हिँडेको खण्डमा, आफ्ना मतभेद बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै लाग्यौं भने हाम्रो पार्टीले बहुमत पनि प्राप्त गर्न सक्दछ,’ सभापति देउवाले भन्नुभयो ।
पार्टी एकता कायम गर्न सके लोकतन्त्र, समावेशी समानुपातिक राजनीति, संघीय प्रणालीलाई सुदृढ गर्ने चुनौतीको सामना गर्न सकिने बताउँदै काठमाडौंले मात्रै देशको विकास हुन नसकने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहका आफ्ना अधिकार सुनिश्चित भएको बताउँदै उहाँले अधिकारको सदुपयोग गरेर विनम्रताका साथ अगाडि बढ्न प्रशिक्षणमा सहभागी नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।