काठमाडौं। आज माघ १९, अर्थात तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन। आजभन्दा ठिक १९ वर्षअघि २०६१ साल माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै ज्ञानेन्द्र शाहले राजनीतिक कु गरी शाही सम्बोधनमार्फत शासनसत्ता कब्जा गर्नुभएको थियो ।
दरबार हत्याकाण्ड लगत्तै राजा बन्नुभएका ज्ञानेन्द्रले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइन बन्द गराउनेदेखी सञ्चार गृहहरुमा सेना परिचालन र रेडियोमा समाचार रोक लगाउँदै राजनीतिक दलका नेतालाई नजरबन्दमा राख्ने सम्म्का कदम चाल्नुभएको थियो ।
त्यसदिन शाहले प्रजातान्त्रिक व्यवस्थाको अन्त्यको घोषणा गर्दै शासन सत्ता आफ्नो हातमा लिएर देश आफैंले चलाउने घोषणा मात्रै गर्नुभएन तत्कालीन प्रधानमन्त्री देउवा असक्षम रहेको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल नै गठन गर्नुभयो ।
उहाँले सम्बोधनमा शान्ति, सु,व्यवस्था, सुशासन, भ्रष्ट्राचार नियन्त्रण, र जननिर्वाचीत निकायलाई जिवन्त तुल्याउन सत्ता हातमा लिन बाध्य भएको बताउनुभएको थियो ।
यसरी सत्ता कब्जा गरेपनि यो अवस्था धेरै दिन टिक्न सकेन। यही पृष्ठभूमिमा नेपालमा २०६२÷२०६३ सालमा जनआन्दोलन चर्कियो र नेपालले अढाइ सय वर्षको राजतन्त्र फाल्न सफल बन्यो। यही जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्न सफल भयो ।
इतिहासविद् एवं राजनैतिक विश्लेषक गोविन्दमान् सिंह कार्कीका अनुसार ज्ञानेन्द्रले तत्कालिन संविधानको अपव्याख्या गरी कु गरेपछी नै फरक पृष्ठभुमि र उदेश्यमा आन्दोलनमा होमीएको माओवादी र कांग्रेस एमाले पनि एकठाँउमा आएका र लामो समयदेखी राजाको निरङ्कुशता फाल्न सफल भएको बताउनुहुन्छ ।
तर तत्कालिन राजा ज्ञानेन्द्रकै कारण नेपालबाट निर्मुल परेको राजतन्त्रको पक्षमा फेरी केही बाछिटाहरु देखा पर्न थालेका छन् ।
लामो संघर्ष र मेहनतपछि २०७२ सालमा नयाँ संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वायन हुन नसक्दा र पछिल्लो समय बढ्दो राजनैतिक अस्थिरताले आम सर्वसाधरणमा बढेको नैरास्यताको बलमा ज्ञानेन्द्र आफै पनि विस्तारै राजनैतिक सक्रियता उन्मुखजस्तो देखिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाजस्ता दलहरु विस्तारै सल्बलाउँदै गएका छन् ।
राप्रपाले त त्यसदिनलाई ज्ञानेन्द्रले कु गरेको नभै जनताले नै सत्ता सुम्पिएको दावी गर्छ। महामन्त्री धवल समशेर जवराले त्यसदिन तत्कालिन प्रधानमन्त्री देउवाले हामी देश चलाउन सकेनौं भनेर आँफै ज्ञानेन्द्रलाई सत्ता सुम्पिएको जिकिर गर्नुभयो ।
राप्रपा पुनः संवैधानिक राजसंस्थाको नाममा राजा फर्काउनुपर्नेमा छ। अहिले नेपालबाट वर्तमान व्यस्था असफल पुष्टि भएको र देश अस्थिरताको भडखालोमा रुमल्लिएको भन्दै महामन्त्री राणाले आम जनताहरु पनि यो व्यवस्था फालेर राष्ट्रपतिको स्थानमा राजालाई अबिभावकिय भुमिकामा राख्नुपर्ने निष्कर्षमा पुगेको दाबी गर्नुहुन्छ। त्यसका लागी राप्रपाले आगामी चैतबाट जनता लिएर सडकमा उत्रीने बताउनुभयो।
लामो संघर्ष र अथक प्रयासबाट देशले प्राप्त गरेको संविधान कार्यान्वायनमा अहिले राजनैतिक दलहरु पूर्ण जिम्मेवार नबन्दा केही असन्तुष्टी देखा परेपनि व्यस्था परिवर्तनको समय नआएको जानकारहरुको दावी छ। देशमा विधिको शासन लागु हुन नसक्दा केही असन्तुष्टी निस्किएकोले नेतृत्वतहले कसैलाई काखा र कसैलाई पाखा नभै समान हेर्न सक्नु्पर्नेमा उनिहरुको जोड छ ।
यद्यपी राप्रपाको एजेण्डा, पूर्वराजाको सक्रियता र चाहना, र केही झिनो असन्तुष्टीले मात्रै अहिले व्यवस्था परिवर्तन हुने र राजा नेतृत्वमा फर्किने कुरा असम्भव रहेको इतिहासविद् गोविन्दमान् सिंह कार्की बताउनुहुन्छ ।
नेपाली जनताहरुले राणा शासन, राजतन्त्र, प्रजातन्त्र हुँदै लोकतन्त्रसम्मको शासन व्यवस्था भोगिसकेका छन् । त्यसकारण अझै पनि मौकामा चौका हान्ने र आफ्नो स्वार्थको रोटी सेक्ने पुरानो परिपाटी लियर सक्रिय बन्न खोजेका सिमित दल र व्यक्तिलाई आम जनताले विश्वास गरिहाल्ने अवस्था छैन। तर अहिलेको नेतृत्व तहबाट उत्पन्न असन्तुष्टी यतिकै मौन रहिरहँदैन।
तसर्थ अहिलेको सरकार, राजनैतीक दल र जिम्मेवार व्यक्तिहरु सचेत तथा जिम्मेवार बन्न जरुरी छ । भने मौकामा चौका हान्ने उदेश्यले आफ्नो स्वार्थको रोटी सेक्ने पुरानो परिपाटी लियर सक्रिय बन्नेहरुलाई खबरदारी गर्न आम सर्वसाधरण पनि जागरुक बन्न जरुरी छ ।।