काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक बारे संसद् र सञ्चार क्षेत्रसँग छलफल गर्ने बताउनुभएको छ । संञ्चार क्षेत्रसँगको छलफलपछि प्राप्त भएका सुझावका आधारमा परिमार्जन गरिने बताउनु भएको हो ।
प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ज्ञवालीले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि विद्येयक ल्याउन लागिएको र यसवाट कसैले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । सामाजिक संञ्जाल मनोरञ्जन तथा सुचना आदान प्रदान गर्ने माध्यम बन्नुको सट्टा कसैको चरित्र हत्या गर्ने, गाली गर्ने थालो बनेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तथ्यको आधामा जसको जतिपनि आलोचना गर्न पाइन्छ । गलत गरेको खण्डमा विरोध गर्न पनि पाइन्छ । तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिने जस्ता कार्यलाई स्वीकार्न सकिदैँन । त्यसैले सामाजिक संञ्जाललाई केही हदमा बाँध्न आवश्यक छ ।’ कार्यक्रममा ज्ञवालीले नेकपा एमाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै सामाजिक संञ्जाललाई निति र कानुनको परिधीमा राखेर संञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।