काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा गलत सूचनाहरु बढी आएर वास्तविक सूचना ओझेलमा परेको बताउनुभएको छ ।
सन्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति अनावश्यक आरोपहरु लाग्दै गएको उहाँले बताउनुभयो । कांग्रेस रुपन्देही २ नम्बर क्षेत्रीय समितिले बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेकोले त्यसको नियमन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उहाँको भनाई थियो । महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।