काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई तिहाइको सरकार भएपनि आफ्नै कारण कमजोर बन्दै गएको बताउनु भएको छ । सरकार बनेको दिनदेखि नै प्रधानमन्त्री ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको भन्दै सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनु भएको हो ।
बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले सरकारले जनतालाई आतङ्कित बनाएको बताउनुभएको छ । सरकारले आफ्ना गलत कदम नसच्याएको खण्डमा विपक्षी दलहरुले संसद अधिवेशनबाटै घेरबन्दी सुरु गर्ने समेत चेतावनी दिनुभएको छ ।
सापकोटाले भन्नुभयो ‘सरकारले विधेयकको विरोध ग¥यो भने प्रतिवाद गर्नुपर्छ, भन्ने मान्यता लिएको छ । दुई तिहाईको सरकारले प्रतिवाद गर्ने मनोस्थिती बनाउनु भनेको सरकार कमजोर हुनु हो । संसदको बाटोलाई छलेर गलत प्रक्रियाबाट अध्यादेश ल्याउँछ भने सरकार असफल भएको हो ।’
ओली नेतृत्वको सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको उहाँले बताउनुभयो । ‘सरकारले ल्याएको अध्यादेश मध्ये सवैभन्दा गम्भिर विषय भूमि विधेयकमा छ । कार्यकर्तालाई जग्गा बाँड्न विधेयक ल्याइएको छ । सरकारले दुई तिहाईको बलमा विपक्षीलाई पेलेर गलत अध्यादेश पारित गराउन खोज्छ भने, त्यसको शसक्त विरोध हुन्छ,’ सापकोटाले भन्नुभयो ।