काठमाडौं। ओखलढुङ्गामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ भँडारे खोलामा आज बिहान ना१ज ६४२१ नम्बरको टाटा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा ज्यान गुमाउनेमा खोटाङको कोपिलासगढी गाउँपालिका–३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १२ की ४५ वर्षीया तारा गुरुङ छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो। सुमो चालक सुनसरीको इनरुवा नगरपालिका– २ का २२ वर्षीय अनिल पण्डित फरार छन्। सुमोमा चालकसहित चार जना सवार थिए।