काठमाडौँ । सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
महासंघलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने गरी सरकारले विद्येयक दर्ता गराएको भन्दै महासंघले आपत्ति जनाएको हो । महासंघले विज्ञप्तीमा भनेको छ, ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यतालाई पनि सामान्य ख्याल नै नगरि विद्येयक दर्ता गराएको र कतिपय वुँदाहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालका भएकाले विद्येयक अघाडी बढाउन सकिदैँन ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने महासंघले ध्यानाकर्षण गराएको छ ।
