काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताउनुभएको छ । सिंहदरबार परिसरमा आयोजित राष्ट्रिय सहिद दिवसको मूल समारोहमा उहाँले देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको बताउनभयो ।
गृहमन्त्री लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नका लागि सहमति, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । सरकार जनता र कानुनी शासनको मर्म अनुसार नै काम गरिरहेकाले राष्ट्रको समृद्धी नै सरकारको प्राथमिकतामा परेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रालय नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, शान्ति, स्थिरता र विधिको शासन कायम गर्न निरन्तर क्रियाशील छ । राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच समन्वय र सहकार्य हुन आवश्यक छ ।’ सहिदहरुको सपनालाई साकार तुल्याउनका लागि सवै दलहरुले एकै ठाँउमा रहेर काम गर्नु पर्ने गृहमन्त्री लेखकको धारणा थियो ।