काठमाडौं । गएको शनिबार अछामको ढकारी गाउँपालिका ८ की दुई किशोरी मृत फेला परिन् । शुक्रवार दिउँसो बाख्रा चराउँन जंगल गएकी नातामा फुपूभदै पर्ने १४ वर्षीया इसरा खड्का र सरस्वती खड्का शनिवार मृत अवस्थामा फेला परे ।
अहिले प्रहरी उक्त घटनाको अनुसन्धान थालेको छ । मृतकको पोस्टमार्टम सकिएपछि सीआईबीको सहयोगमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालाय अछामले जनाएको छ । किशारीको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो ।
पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण थाह हुने र आज नेपालगञ्जबाट शव अछाम ल्याएर आफन्तलाई बुझाइने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । तर आफन्तहरुले अनुसन्धान नहुँदासम्म शव नबुझ्ने बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरुको पहिचान भने प्रहरीले खुलाएको छैन् । किशोरीका आफन्तले पाँच जनाको नाममा उजुरी दिएको डिएसपी भण्डारीले बताउनुभयो ।
यस्तै उक्त घटनाको प्रदेश प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा डीआईजी गणेश चन्दका अनुसार अछाम प्रहरीले गरिरहेको अनुसन्धानलाई सघाउनका लागि प्रदेशबाट छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।