काठमाडौं। संसदको हिउँदे अधिवेशनको मिति नजिकिएसँगै रणनिति निर्माण केन्द्रित चहलपहल बढ्दै गएको छ। आउँदो माघ १८ गतेदेखी सुरु हुने गरी बोलाइएको संसद अधिवेशनको मिति नजिकिएसँगै सरकार, सभामुख, संसद सचिवालयसँगै राजनैतिक दल तथा सांसदहरु यतिबेला आ आफ्नो रणनीति बनाउन केन्द्रित बनेका छन्।
भmण्डै दुई तिहाईको शक्तिसाली गठबन्धन सरकार र दलहरु हालै ल्याइएका अध्यादेशसँगै अन्य आफ्नो सहजताकेन्द्रित एवं अति महत्वका विधेयकहरु सदनमा प्रस्तुत गर्ने रणनितिमा रहँदा विपक्षी दलहरु भने सोही अध्यादेशलाई सके प्रतिनिधीसभाबाट त नसके राष्ट्रिय सभाबाट भएपनि विफल पार्ने र सरकारविरुद्ध पनि खरो रुपमा प्रस्तुत हुने र सरकार असफल पार्ने रणनीतिमा जुटेका छन्। अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी पनि छ ।
त्यस सँगसँगै यता प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले पनि अधिवेशनको मिति नजिकिँदै गएपछी आफ्नो सक्रियता बढाउनुभएको छ। आज मात्रै सभामुख घिमिरेले संसद् सञ्चालनका विषयमा सत्तारुढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ।
आजको छलफलमा उहाँले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरूलाई छिटो अघि बढाई बिजनेस दिन दलहरुको तयारी केछ? भन्ने विषयमा धारणा माग्नु भएको छ।
यस्तै उहाँले बढीभन्दा बढी विजनेस कसरी ल्याउन सकिन्छ? कार्यव्यवस्था तथा परामर्श समितिमा के कस्तो एजेन्डा राख्न सकिन्छ? भन्ने विषयमा पनि छलफल गर्नुभएको छ। अब भोली सामुहिक छलफल गर्ने तयारी सभामुखले गर्नुभएको छ।
आज सभामुख घिमिरेले राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा पुगेका विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक, मर्यादासम्बन्धी विधेयकलगाएत र संसदको विजनेससँगै रचनात्मक रुपमा संसद अगाडी बढाउने विषयमा सत्तारुढ दलको धारणा माग गर्नुभएको सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिनुभयो। सदनलाई सहज ढंगले अघि बढाउन आफूहरूको सकारात्मक प्रभावकारी भुमिका रहने प्रतिवद्धता व्यक्त गरेको वर्तौलाको बताउनुभयो।
यस्तै आज सभामुख घिमिरेले मुलतः समितिमा अल्झिएर रहेका विधेयक, संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयक लगाएतसँगै अन्य केही महत्वपूर्ण विषयमा चासो देखाउनु भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो। यससम्बन्धमा आज आँफुहरुले पार्टीको तर्फबाट धारणा प्रस्तुत गरेको र भोली सामुहिक छलफल गरिने उहाँले बताउनुभयो।
आजै सभामुख घिमिरेले प्रतिपक्षी दलसँग पनि छलफल गर्नुभएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकसँग सदनका विषयमा छलफल गरी धारणा माग्नु भएको हो ।
बैठकमा सभामुखले आँफुहरुको धारणा मागेसँगै सदनलाई प्रभावकारी बनाउन सत्तापक्षको भूमिकालाई ध्यान दिनुपर्ने सुझाव दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो। आँफुले संसदको समितिमा विचाराधिन विधेयक फिर्ता नलिई सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत कदम रहेको भन्ने कुरामा सभामुखको ध्यानाकर्षण जनाएको बताउनुभयो।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कानुन बनाउने क्ुरामा सहमती र सहकार्यका लागी सरकारसँगै रहेको र कानुन निमार्णमा यदी सरकार गम्भिर नभए प्रक्रिया नै अवरुद्ध पार्ने चेतावनी सभामुखलाई दिएको बताउनुभयो।
संसहको हिउँदे अधिवेशन पूर्व आज मुख्य दलका प्रमुख सचेतक सँग छलफल गर्नुभएका सभामुख घिमिरेले भोली सबै दलसँग सामुहिक छलफल गर्दै हुनुहुन्छ। भने पर्सि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ। यसमा पनि अधिवेशनमा प्रस्तुत हुने विजनेसका बारेमा घनिभुत छलफल हुनेछ।
खासगरी संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशन पनि हो। तसर्थ यो अधिवेशनबाट जतिसक्दो धेरै विधेयक तथा कानुन निर्माण गर्न सत्ता पक्ष र प्रतिपक्ष सबै दल जिम्मेवार बन्न जरुरी छ भने सभामुखले पनि यसमा सशक्त भुमिका निर्वाह गर्न जरुरी छ।