काठमाडौं । आफैंले स्थापना गरेको फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका मदन राई बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । उनी विरुद्ध परेको मुद्धाको अन्तिम सुनुवाई गर्दै जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो ।
आफुलाई कृषि विज्ञ भनेर परिचय दिने राईले खोटाङमा संञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उक्त मुद्धाको सुनुवाई गर्दै १० माघमा उनलाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार दोषी ठहर भएका राईलाई सजाय निर्धाण गर्नका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । राईले स्थापना गरेको फाउण्डेशनमा पढ्ने बालिकामाथि लामो समयदेखी यौन दुव्र्यवहार गरिरहेको समाचार बाहिरीएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।