काठमाडौं । सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको तेस्रो दिनको बहस रुपन्देही जिल्ला अदालतमा सुरु भएको छ । बुधबारबाट थुनचेक बहस भइरहेको भएपनि बहस नसकिएपछि आज तेस्रो दिन पनि बहस भइरहेको छ । शुक्रवार रवि पक्षका तीन जना वकिलले बहस गरेका थिए ।
आज तेस्रो दिन बाँकी रहेका वकिलले बहस गर्ने जिल्ला अदालत रुपन्देही श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताउनुभयो । रवि लामिछाने तर्फका वकिल रमण श्रेष्ठबाट आजको बहस सुरु भएको छ । रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि सवाल जवाफ हुने श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलास सुनुवाई भइरहेको यो मुद्धामा बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको रकम सङ्गठित रूपमा ठगी गरेको अभियोग लागेको छ ।