काठमाडौं । नेपाली कांग्रेसले नेपालको उद्यमशीलता क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलन’ आयोजना गर्न लागेको छ ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागकी संयोजक उर्मिला थपलियाका अनुसार सम्मेलनले नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्दै डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रको विकास, महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने अपेक्षा लिएको छ ।
सम्मेलनमा ८० भन्दा बढी स्टार्टअपले आफ्ना नवीनतम उत्पादन तथा सेवा प्रदर्शन गर्ने तय भएको उहाँले बताउनुभयो । सम्मेलनले लगानीकर्ता र सरोकारवालालाई नयाँ लगानीका अवसरहरू पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
सम्मेलनमा ६ हजार बढी युवा उद्यमी, नीति निर्माता, उद्योगपति, लगानीकर्ता र विज्ञहरू एकै मञ्चमा जुटेर विचार विमर्श गर्ने भएका छन् । नवप्रवर्तन, कृषि उद्यमशीलता, सूचना प्रविधि, महिला उद्यमशीलता जस्ता विविध विषयमा सम्मेलनमा गहन छलफल हुने तय गरिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका उच्च नेतृत्वको उपस्थितिले सम्मेलनलाई थप गरिमामय बनाउने विभागकी प्रमुख थपलियाले बताउनुभयो ।
सम्मेलनले नेपालको स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउने, उद्यमशीलताको वातावरण निर्माण गर्ने र नीतिगत सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा हुने छलफल र सुझावहरूले व्यवसायिक नीति सुधार र लगानीको वातावरण बनाउन ठोस मार्गनिर्देशन गर्नेछ ।
नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ युगको थालनी गर्ने विश्वास लिइएको छ । यस सम्मेलनले नेपाललाई उद्यमशीलताको हब बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विभागकी प्रमुख थपलियाले विश्वास व्यक्त गर्नुभयो।