काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उनले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।
सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतीक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो ।
सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।