काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले ‘मिसन ०८४’ भन्ने छुट कांग्रेसलाई नभएको बताउनु भएको छ । शुक्रवार गृहजिल्ला कञ्चनपुरमा भएको कार्यक्रममा बोल्ने क्रममा नेता साउदले कांग्रेसलाई ०७९ को चुनावबाट जनताले ‘म्यान्डेड’ दिइसकेकाले नेपाली काँग्रेसले ‘मिसन ८४’ भन्ने छुट नभएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन । हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’ जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट नडराएर आफ्नो काममा केन्द्रित हुन आवश्यक रहेको साउदको भनाइ थियो । नेपाली कांग्रेस जनताको पार्टी भएको बताउँदै नेता साउदले जनताका न्युनतम् आवश्यकताको पहिचान र राष्ट्रको स्वाभिमानका लागि कांग्रेसले काम गरिरहेको बताउनुभयो ।
‘जनप्रतिनिधि भइसकेपछि आलोचनाबाट डराउनुपर्ने छैन, जनप्रतिनिधिले आफ्नो काममा केन्द्रित हुन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘युवाले गरेको कामको आधारमा उनीहरुलाई न्याय दिनका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छौँ।’