काठमाडौं । भारतमा भएको रेल दुर्घटनामा परी सात जना नेपालीको मृत्यु भएको छ । माघ ९ गते महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु भएको हो ।
आज परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै दुर्घटनामा परी मृत्यु भएका सात नेपालीको सनाखत भएको जनाएको छ । मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।
सोही दुर्घटनामा परी चार नेपाली घाइते भएका छन् । घाइते भएका नेपालीहरु मध्ये दुई जनाको उपचार भइरहेको छ । ७ नेपाली बाहेक ५ जना भारतीयको पनि मृत्यु भएको भारतीय संञ्चार माध्यमले जनाएका छन् ।
