काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनु भएको छ ।
आज बिहान शीतल निवासमा जिल्ला समन्वय समितिका प्रमुख एवम् उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको हो ।
’विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजीक्षेत्र, गैरसरकारी क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जस्तो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ । संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेश अनुसार काम भए÷नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यानाकर्षित गर्न पनि आग्रह गर्नुभयो । आफ्नो भूमिकालाई आफैँ क्रियाशील र जागरुक भएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई उहाँले आग्रह गर्नुभयो ।