काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले आफ्नो तटस्थताको सिद्धान्तलाई सम्मान गर्न सम्पूर्ण राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेको छ।
नेरेसोले हालै केही राजनीतिक दलहरूले रेडक्रसका संरचनाहरूसँग पत्राचार गरी छलफल तथा अन्तर्क्रिया गर्न आह्वान गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाले रेडक्रसको तटस्थता, सिद्धान्त र मूल्य मान्यताको विपरीत हुने कुनै पनि गतिविधि नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण सरोकारवालाहरूलाई रेडक्रस अभियानको मर्मलाई सम्मान गर्न र आधारभूत सिद्धान्तहरू पालनाका लागि सहयोग गर्न आग्रह गरिएको छ।
वि.सं. २०२० सालमा स्थापना भई संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएको नेरेसो समाज कल्याण परिषद्मा आबद्ध छ। रेडक्रस सोसाइटीले सरकारको सहयोगी मानवीय सेवामूलक संस्था रूपमा देशभर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।