काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै उहाँले ससाना राज्यलाई एकीकरण गरेर पृथ्वीनारायण शाहले आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताउनुभएको छ ।
विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको उहाँको तर्क छ ।
‘यही आधारभूमिमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ’, उहाँले भन्नुभएको छ, ‘स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन।’
सन्देशमा राष्ट्रपति पौडेलले पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको तर्क गर्नुभएको छ। ‘उहाँका दिव्योपदेश हामीलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको छ’, उहाँले भन्नुभएको छ ।