काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सुशासनको पक्षमा उभिँदा कांग्रेस र एमालेले सरकार ढालेको बताउनुभएको छ ।
आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो।
प्रचण्डले पहिलो चरणमा हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रित तीन महिने अभियान सञ्चालन गर्ने, संगठनको काम गर्ने र विचार विश्लेषणपछि महाधिवेशनको तयारीमा जुट्ने उल्लेख गर्नुभएको छ ।
पालिका, जिल्ला र प्रदेशको अधिवेशनमा जुटेपछि महाधिवेशन गर्ने भन्दै प्रचण्डले अविश्वास नगर्न आग्रह गर्नुभएको छ । प्रचण्डको प्रस्तावमा फागुनभित्र केन्द्रदेखि प्रदेशसम्मका नेताले सम्पत्ति विवरण बुझाउन निर्देश गरिएको छ । प्रचण्डको राजनीतिक प्रस्ताव पेश भएपछि सबै पदाधिकारीलाई पनि यसपटक सुझाव राख्न समय दिइने भएको छ ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताउनुभएको छ । प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताउनुभयोे ।
पार्टीको वर्ग चरित्रको प्रश्न जटिल भएकोले सच्चिने र सच्याउने गरी कार्ययोजना बनाएर जानुपर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको उद्घाटन गर्दै प्रचण्डले आज पार्टी महाधिवेशनको मिति तोकेर त्यहाँ विचार संश्लेषण गरेर जाने भन्नुभएको छ ।
उहाँले माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने पनि बताउनुभयो । प्रचण्डले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा माओवादीले राखेको फरक मत संविधानसभामा दर्ज फरक मत नै संविधान संशोधनको बिषय बनाउने बताउनुभयो ।