काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
झाका अनुसार बैठकमा मुलुकको समसामयिक राजनीति परिस्थिति, पार्टीको केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुनेछन् ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ ।
सभापति लामिछानेले गएको आइतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिनुभएको थियो ।
लामिछानेको ईच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।