काठमाडौं। नेपाल भ्रमणमा रहेको हङकङ्गको यू–१९ टोलीसामु नेपाली यू–१९ टोलीले २६६ रनको चुनौति पेश गरेको छ। यसअघि नै दुई खेल जितेर सिरिज कब्जा गरेको नेपाली टोलीले तेस्रो तथा अन्तिम खेलमा पनि विशाल स्कोर खडा गरेको हो।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा २६५ रनमा अलआउट भयो। नेपालका लागि तीन जनाले अर्धशतकीय पारी खेले। सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोड्दा सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन जोडे ।
९६ बलको सामाना गरेका सूर्यांशुले ८ चौका र १ छक्का हिर्काउँदा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का हिर्काए । ४५ बलमा सन्तोषले पनि ५ चौका र १ छक्का हिर्काएका थिए ।
नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे। २१ रन नेपालले अतिरिक्त पायो। बलिङमा हङकङ्गका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।
लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।