काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठक भोलि र पर्सी बस्दै छ ।
केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिइने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो ।
गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन ।
पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली बैठकले अनुमोदन गर्ने बताइएको छ ।