काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने कार्यतालिका रहेको छ ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनिया समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन्।
दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल र चीनबीच भएको टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेका छन्।
यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ।
यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ।
।