काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लगातार दोश्रो जित हात पारेको छ। लिगको पाँचौ तथा आजको दोश्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८८ रनले हराएको हो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनायो। खेलमा रवि बोपाराले सर्वाधिक ५१ रन बनाएको इनिङ्समा रेमन राइफर, बास डे लिडे र बिपिन कार्कीले समान २ विकेट लिए ।
जवाफमा पोखराले १३.२ ओभरमा अलआउट हुँदै ७४ रनमात्र बनाउन सक्यो । नारायण जोशीले सर्वााधिक ३० रन बनाएको इनिङ्समा मार्कस क्रिट्लीले १७ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।
पहिलो ओभरमै तीन विकेट लिएर पाकिस्तानी बलर सोहेल तन्भिरले कमाल गरेका थिए । त्यस्तै रिजन ढकाल र लुक बेन्केन्स्टिनले ३–३ विकेट नै लिए । योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । पोखराले भने पहिलो खेल खेलेको हो ।