काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागले देशभरी रहेका आफ्नो पार्टीका उम्मेदवारहरुसँग स्थलगत छलफल गरेको छ ।
उपनिर्वाचन हुन लागेका ठाउँमा पार्टीले उठाएका उम्मेदवारहरुलाई विभागको टोलीले उनीहरुकै ठाउँमा गएर भेटघाट गर्दै निर्वाचन रणनीतिका लागि विभिन्न सुझाव दिर्दै परियचालन र समन्वय गरेको थियो ।
विभागका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य मधु आचार्यको नेतृत्वमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार लेखनाथ पोखरेल लगायतको टोलीले काठमाडौ कृतिपुरबाट सुरु गरेको निर्वाचन अनुगमन तथा समन्वय यात्रा देशभरीका सबै ठाउँमा पुगेर विहीवार कृतिपुरमै आएर समापन गरेको हो ।
झण्डै दश दिने यात्राका क्रममा काँग्रेसको केन्द्रीय टोली बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निर्वाचन हुन लागेका विभिन्न स्थानीय तहमा पुगेको थियो ।
टोलीले कर्णालीमा कालिकोट हुँदै बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका, हुम्ला जिल्लाको सर्के गार्ड गाउँपालिका, पुनः बाजुराको कोल्टी, मार्तडी, अछामको साफेबगर हुँदै डोटीको पूर्वी चौकी गाउँपालिका पुगेको थियो । त्यसैगरी सुदुरपश्चिममा डडेलधुराको अमरगढी नगरपालिका हुदै कैलालीको अतरिया र कञ्चनपुरको भीमदत्त नगरपालिकामा पुगेर भेटघाट तथा अन्तरक्रिया गरेको थियो ।
भेटघाटका क्रममा टोलीले उम्मेदवारहरुको चुनावी तयारी तथा रणनीतिका बारेमा जानकारी लिदैँ आवश्यक सल्लाह, सुझाव, सहयोग र समन्वय गरेको टोलीका सदस्य पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मौनवअधि लागू गर्नु अघिल्लो दिन नै यात्रा समापना गरिएको उहाँले बताउनु भयो ।