काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौं ल्याउन लागिएको हो।
लामिछानेको पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएको प्रहरीले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको आरोपमा गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। जोशीको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको छ।