काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई ‘एमालेविरुद्ध परिचालित भएको’ गम्भीर आरोप लगाउनुभएको छ ।
हिजो शुक्रबार दिउँसो एमालेले काठमाडौँको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको थियो।
महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले हिजो एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाउनुभएको थियो ।
एमालेलाई जरिवानाको पत्र काटेपछि आक्रोसित भएका पोखरेलले सामाजिक सञ्जालमा ‘मेयर वालेन नेकपाविरुद्ध परिचालित छन् भन्ने कुरा सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिने’ दाबी गर्नुभएको हो ।
पोखरेलले सामाजिक सन्जालमा लेखेको यस्तो छ:
काठमाडौँ महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो। संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए। मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो।
तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो। जुन समय अगावै सार्वजनिक गरियो।
नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर वालेनलाई।
जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो।