काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग भर्चुअलरुपमा कुराकानी गर्नुभएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले मस्कसँग कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पनि दिनुभएको छ । आगामी जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उहाँको सचिवालयले जनाएको छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । संवादको क्रममा मस्कले स्टारलिङ्कबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।