काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गर्नुभएको छ। उहाँले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने गरी ऐन ल्याउने प्रक्रिया अघि बढाउनुभएको हो।
अहिलेसम्म अघि बढ्न नसकेको संघीयताअनुरुपको स्वास्थ्य सेवा ऐनलाई टुँगोमा पुराउन हिजो बसेको मन्त्रिपरिषद् बैठकले पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।
अहिलेसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजानुभएको थियो।
संघीयता आए पनि स्वास्थ्य कर्मचारीको वृत्तिविकासमा समस्या आइरहेकाले ऐन निर्माणको प्रक्रिया अघि बढाइएको मन्त्री पौडेलले बताउनुभयो । अब सबै पक्षको सुझाव समेटेर ऐन निर्माण अघि बढ्ने उहाँको भनाइ छ ।
संघीयताअनुरुपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्तिविकास तथा बढुवालगायतमा समस्या परेको छ ।