काठमाडौं । नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय वार्ता हुँदैछ ।
पाँचदिने औपचारिक नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गीअड्डामा आज द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नेपाल र भारतबीच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीऔँदेखि दुई मुलुकबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ ।