काठमाडौं। नेपाल टेलिकम पनि नेपाल प्रिमियर लिग (एनपीएल)मा जोडिएको छ। टेलिकमले एनपीएलमा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने समझदारी गरेको हो।
यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो।
नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका रुपमा नेपाल टेलिकम रहनेछ। उक्त समझदारीपत्रमा नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका तर्फबाट टिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिए।
खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए।
प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताइन्।
एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उनले व्यक्त गरिन्।
सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्।