काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
पत्रकारसँग कुराकानी गर्दै मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिनुभएको हो । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिनुभयो ।
गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम सुरु भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।
हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो ।
तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरूसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उहाँको भनाइ छ । हवाई भाडा बढेका विषयमा पाँचबुँदे निर्णय गरी ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताउनुभयो ।
अहिले क्रमिक रूपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताउनुभयो । सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताउनुभयो ।