काठमाडौं । सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको उदयले मुद्रास्फीति बढ्न सक्ने अनुमान गरिएको छ ।