काठमाडौं । नेपालीहरुका महान चाडबाड नजिकिँदै गर्दा बजारमा अप्रत्यासित मूल्यवृद्धि हुने गरेको छ । अहिलेको अवस्थामा बजारको अनुगमन फितलो हुँदा आम उपभोक्ता मारमा परेका छन् । बजारमा अनुगमन गर्न जाँदा उपभोक्ताकर्मीहरुलाई समेत सुरक्षा थ्रेट हुने गरेको खुलासा भएको छ । सरकारको अनुगमन गर्ने संयन्त्रले लापरवाही गर्दापनि नागरिकहरुले दुख पाउने गरेका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले बजारमा अनुगमन गर्दासमेत सुरक्षाको ग्यारेन्टी नभएको दाबी गर्नुभयो । केही समय अगाडि अनायासै आफूहरुले अनुगमन गर्दा दुख पाएको उहाँको दाबी रहेको छ ।
बजारमा सामान्य नागरिकले किनमेल गर्नसक्ने परिस्थिति बनेको छैन । भएका खाद्यवस्तुहरु पनि अखाद्य हुने डरैडरमा सामानहरु किन्नुपर्ने बाध्यता रहेको छ । राज्यका संयन्त्रहरुनै बजार अनुगमनका निम्ति सक्रिय हुन जरुरी रहेको छ । निजी क्षेत्रबाट हुने अनुगमनले मात्रै बजार सफा हुनेस्थिति होइन । उपभोक्ताको पक्षमा वकालत गर्ने भन्दै च्याउजस्तै उम्रिएका संस्थाहरु पनि एकजुट नहुँदा विचौलियाहरुको हाबी भएको छ । बजारको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने उपभोक्ताकर्मी ज्योति बानियाँको भनाइ रहेको छ ।
बजारमा महंगी स्वभाविक भएको छ । बाढीपहिरोबाट धेरै संरचना क्षतविक्षत भएका छन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने नागरिकहरुलाई विभिन्न चाडबाडमा सस्तो र सौहार्दपूर्ण जीवनयापनका लागि सरकारले तदारुकता देखाउन सक्नुपर्दछ । बजार अनुगमन गर्ने विभिन्न निकायहरुको पनि सुरक्षाको ग्यारेन्टी लिनसक्नुपर्दछ ।