काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पूर्व माओवादी खेमाका नेताहरुले यसपटकको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने बताएका छन्।
उनीहरुले यसपटक कमजोरी अध्यक्ष ओलीबाटै भएकोले अघिल्लो पटकको जस्तो साथ दिन नसक्ने बताएका हुन्।
यसबारे आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै अवगत गराइसकेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
गजुरेलसहित पूर्व माओवादी खेमाका नेताहरु लेखराज भट्ट, मणि थापा, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी लगायतलले यसअघिको विवादमा अध्यक्ष ओलीलाई साथ दिनुभएको थियो।
भारतसँग मिलेर पार्टी भित्रैका केही नेताहरुले आफूलाई हटाउन खोजेको बताएपछि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग चर्काेगरी उठेको थियो।
त्यसबखत ओलीलाई दुवै पदबाट हटाउन खोजिनु एकताविरोधी काम हुने भन्दै पूर्व माओवादी खेमाका नेताहरुले ओलीलाई साथ दिएका थिए।
यसपटक फेरि पार्टी विभाजनको संघारमा पुगेपछि ओलीले पूर्वमाओवादी खेमाका ती नेताहरु मध्ये केहीलार्ई बालुवाटार बोलाएर छलफल गर्नुभएको थियो।
तर आफूहरुले यसपटक भने कमजोरी ओलीबाटै भएकोले साथ दिन नसक्ने जवाफ दिएको नेता गजुरेलले बताउनुभयो।
उहाँले ओलीबाट एकलौटी रुपमा भएको मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिले सकारात्मक योगदान नदिएकोबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको जानकारी दिनुभयो।
पार्टीको आन्तरिक शक्ति सन्तुलन बिगार्नुका साथै ओली नेतृत्वको सरकारबाट जनअपेक्षा बमोजिम काम हुन नसकेको पनि गजुरेलले बताउनुभयो।
उहाँले कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गरेर सरकारले आफूलाई असफलतातिर डो¥याएको बताउनुभयो। यो निर्णय सच्याउन पनि आफूले प्रधानमन्त्रीलाई आग्रह गरेको नेता गजुरेलले बताउनुभयो ।
पार्टीमा संकट गहिरिँदै गएपछि नेकपाको केन्द्रीय सचिवालय बैठक बोलाउन बहुमत सदस्यहरुले गरेको लिखित आग्रह पनि प्रधानमन्त्री ओलीले लत्याउनुभएको छ।
प्रचण्ड–नेपाल समूहले सचिवालय बैठक डाक्नका लागि ओलीलाई दिएको समय आज सकिएको छ।
ओलीले बैठक डाक्न नमानेपछि अब प्रचण्ड–नेपाल समूहले लिने आगामी कदमबारे चासोका साथ प्रतिक्षा गरिएको छ। तर अब के गर्ने भन्नेबारे आफूहरुबीच सल्लाह हुन बाँकी रहेको वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो।
यता अब सचिवालयका नेताहरुले एक्सन नलिए स्थायी कमिटि सदस्यहरु चुप लागेर नबस्ने नेता भीम रावलको चेतावनी छ ।
यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।
पार्टीमा ओली र प्रचण्ड–नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले विज्ञपित जारी गरेर आरोप प्रत्यारोप रोक्न आग्रह गर्नुभएको छ ।
भबैठक डाक्न चौतर्फी दबाब परे पनि राजीनामा मागिने डरले ओली त्यसमा सहमत भएका छैनन् ।