काठमाडौं । हिजो साँझदेखि रोकिएका आन्तरिक उडान आंशिक रुपमा सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट मुख्य शहरहरुमा हुने उडानलाई आंशिक रुपमा खुला गरेको हो ।
विमानस्थलबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आईएफआर) र भिज्युअल फ्लाइट रुल (भीएसआर) गरी दुई तरिकाबाट उडान र अवतरण हुन्छ । भीएसआर भनेको पाइलटले आँखाले हेरेरै उडान तथा अवतरण गर्ने सिस्टम हो । आईएफआर अन्तर्गत भने यस्तो उडान र अवतरण उपकरणको सहायताले गरिन्छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आईएफआर प्रविधि अन्तर्गत गरिने उडान बेलुकी छ बजेसम्मको लागि खुला भएको छ । यी उडान गरेपछि पाइलटले दिने मौसमसम्बन्धी सूचनाका आधारमा थप निर्णय लिइने उहाँले जानकारी दिनुभयो ।
योसँगै चन्द्रगढी, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा हिजोदेखि रोकिएका उडानहरु सुचारु भएका छन् । त्यसबाहेक अन्य एयरपोर्टको उडानहरुमा लगाइएको रोक भने यथावत छ । अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित रुपमा भइरहेको भुलले जानकारी दिनुभयो ।