Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • बिहिवार, आश्विन ३ २०८१

  • 655
    SHARES

  • आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस, स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २०७२ को असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

    पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको ९ वर्ष पूरा भएको छ ।

    नेपाल सरकारद्वारा आज बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

    त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। बिहीबार साँझ नै राष्ट्रपति पौडेलले शीतलनिवासमा स्वागत समारोह आयोजना गर्नेछन्।

    संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघसंस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिनेछ। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछ।

    नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

    ३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य(मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ।

    सरकारले संविधान जारी भएको दिनमा प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएको छ।

    संविधान दिवसकै खुशियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुनेछ।

    सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान गरेको छ।

     


    बिहिवार, आश्विन ३ २०८१०६:१८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij