काठमाडौं । सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रस्तावित राजदूतको सुनुवाइ सकिएको भए पनि निर्णय भइनसकेकाले आइतबार निर्णय गर्नेगरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।
प्रस्तावित १७ राजदूतको निर्णय गर्नु अघि अझै गम्भीर रुपमा छलफल गर्नका लागि समय चाहिएकाले आइतबार बोलाइएको समितिको बैठक स्थगित गरिएको समिति सभापति इश्वरीदेवी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अबको बैठक आगामी असोज २ गते बस्ने सम्भावना छ । यद्यपी तय भने भइनसकेको सभापतिले न्यौपानेको भनाई छ ।
सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, भारतका लागि शंकरप्रसाद शर्मा, बेलायतका लागि चन्द्रकुमार घिमिरे, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराईको प्रस्ताव गरेको छ ।
यस्तै इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, जर्मनीका लागि डा.शैली रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधर र साउदी अरबका लागि नरेशविक्रम ढकालको नाम सिफारिस गरेको छ ।
प्रस्तावित १७ जनाकै संसदीय सुनुवाइ समितिले सुनुवाइ गरिसकेको भएपनि निर्णय भइसकेको छैन । प्रस्तावित १७ राजदूतहरुमध्ये नेत्रप्रसाद तिमिल्सिना, धनप्रसाद पण्डित, शंकरप्रसाद शर्मा र कपिलमान श्रेष्ठ गरेर ४ जना विरुद्ध उजुरी परेको समितिले जनाएको छ ।