काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन भन्नुभएको हो ।
‘तयारी छ भने भोलि शुक्रबार बस्ने परिषद् बैठकबाटै सबै संवैधानिक निकायमा फुलफिल गरौँ’, प्रचण्डको सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै भन्नुभयो, ‘सबै सम्भव छैन भने जति सकिन्छ गरौँ र बाँकी छलफल गरेर गरौँला ।’
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।