काठमाडौं । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सचिवालय अगाडि आमरण अनसन बस्न लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै निषेधाज्ञा जारी गरेको हो । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाउनेगरी निषेधाज्ञा जारी गरेको बताउनुभयो । उहाँले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो।
जिल्ला प्रशासनले पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरेको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि अनसन बस्ने बताउनुभएको थियो ।