काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताउनुभएको छ ।
आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उहाँले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्लालाई ‘राम्रो कल्पना’ भनेर टिप्पणी गर्नुभयो ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीको भनाइलाई कतिपयले आरजुलक्षित ठानेका थिए ।
धनगढीमा आज पत्रकारहरुले पनि यही विषयमा जिज्ञासा राखे । त्यसको जवाफ दिने क्रममा आरजुले भन्नुभयो, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’
प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उहाँले धन्यवाद समेत दिनुभयो । यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताउनुभयो ।