काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन कसैको विरुद्धमा लाग्नका लागि नबनाइएको स्पष्ट पार्नुभएको छ ।
मंगलबार राजधानीमा आयोजित नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस र एमालेको गठबन्धन कुनै पनि पार्टीको विरुद्धमा नभएको स्पष्ट पार्नुभएको हो ।
उहाँले कांग्रेस र नेकपा एमालेको गठबन्धन बनाउन कसैले दबाब नदिएको पनि बताउनुभयो । यस्तै देउवाले संविधान संशोधन सबै दलहरूको सल्लाह सुझावमा नै हुने भएकाले कुनै पनि शङ्का उपशङ्का नगर्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई बनाउने लगायत विषय संविधान संशोधनको एजेन्डाभित्र पर्ने बताउनुभयो ।
सभापति देउवाले अहिलेको गठबन्धनले नेपालको भोलिको राजनीति र भविष्यलाई योगदान दिने समेत दाबी गर्नुभयो ।