काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूबिरुद्ध पार्टी छाड्दैछ, पार्टी फुटाउँदैछ जस्ता हल्ला चलाइएको आरोप लगाउनुभएको छ ।
स्थायी कमिटीको जारी बैठकमा शर्माले लिखित मत राख्दै खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको दाबी गर्नुभएको छ। प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाटै यस्ता हल्ला चलाइएको उहाँको ठम्याई छ ।
शर्माले पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा दुई पेज लामो फरक मत राख्दै भन्नुभएको छ– उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आमा कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।
शर्माले प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको आरोप समेत लगाउनुभएको छ ।
उहाँले नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरिएको समेत आरोप लगाउनुभएको छ ।