काठमाडौं । माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षमै रहेर राष्ट्रियता र सुशासनको पक्षमा खबरदारी गरिरहने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका महासचिव गुरुङले सरकार बाहिर रहेर प्रतिपक्षको भुमिका आएको आफ्नो पार्टीले भ्रष्टाचार र बेथितीविरुद्ध खबरदारी गर्दै सरकारलाई झक्झक्याउने स्पष्ट पार्नुभयो ।
सरकारमा रहदा पनि आफूहरुले न्यायकै पक्षमा काम गरिरहेको बताउँदै नेता गुरुङले भोलिका दिनमा परिस्थिती आइपरे सडक आन्दोलनमा पनि जानसक्ने तर्क गर्नुभयो ।
माओवादी पाटीमा यतिबेला अहिलेको नेतृत्वले अव नेतृत्वबाट स्वेच्छीक अवकास लिनुपर्ने कुरा पनि उठ्न थालेको छ । उपमहासचिव जनार्दन शर्माले पदाधिकारी सबैले राजीनामा दिएर तेस्रो पुस्तालाई पार्टी हस्तान्तरण गरेर आफूहरु सल्लाहकार बन्ने कुरा उठाइरहनुभएको छ ।
यहि प्रसंगमा महासचिव गुरुङले नेतृत्व विचारको अभिव्यक्ति भएकाले उमेर नभएर विचार र सिद्धान्त महत्वपूर्ण भएको स्पष्ट पार्नुभएको छ ।