काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
अस्ती प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन बैठक व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको हो । मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले आज दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।
नेकपा एमालेले गत असार २० मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन लाग्नुभएको हो । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा पर्नुभएको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।