काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको गुनासो गर्नुभएको छ। प्रधानमन्त्रीले सबैको विचार र धारणा सुन्ने धैर्यता नराखेको उहाँको आरोप छ ।
आज संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतबारेको छलफलमा भाग लिँदै नेपालले यस्तो आरोप लगाउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरुका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । मैलेमात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो ।’