काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा श्रेष्ठले अमुक मान्छेलाई भिसा दिनुपर्छ भनेर सदन र सडकमा आन्दोलन भएको स्मरण गर्नुभयो ।
तर अहिले उपसभामुखमाथि प्रश्न उठाइएको भन्दै उहाँले भन्नुभयो, ‘आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऊँ ।’
उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको उहाँले बताउनुभयो । सांसद श्रेष्ठले अगाडि भन्नुभयो, ‘एउटा महिला जसले यस्तो कठिन समयमा यहाँ आउनुभएको छ, उहाँलाई हेप्न चाहिँ नखोज्नुहोला ।’
साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको उहाँले बताउनुभयो। तर निरन्तर मिडिया ट्रायल गरेर एउटा भाष्य बनाउन खोजिएको भन्दै सुमनाले भन्नुभयो, ‘एउटा मान्छेको चरित्र हत्या गर्ने, त्यो पनि संवैधानिक परिषद्मा एमालेको दुईटा, माओवादीको दुईटा, रास्वपाको एउटा । अल्पमतमा पर्यो भनेर हो भने माग्नुस् न माग्नुस्, दिउँला ।’
आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै रास्वपा सांसद सुमनाले भन्नुभयो, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’