काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र उहाँकी पत्नी डा। अन्जना केसीले वृद्धाश्रममा गएर जन्मदिन मनाउनुभएको छ। दुवैजनाको एकै दिन साउन ४ गते जन्मदिन परेकाले उहाँहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित तपस्थली वृद्धाश्रममा रहेका माताहरूसँग आशीर्वाद लिँदै खाना खाँदै जन्मदिन मनाउनुभएको हो।

जन्मदिन मनाउन फलफुल, मिठाई सहितका खाद्य सामग्री र उपहारहरू लिएर थापाको दम्पति वृद्धाश्रम पुग्नुभएको थियो । त्यहाँ उहाँहरुले सुरुमा वृद्ध माताहरूको आशीर्वाद लिनुभएको थियो भने त्यसपछि सँगै बसेर खाना खानुभएको थियो।
आशीर्वाद दिने क्रममा आश्रममा रहेका वृद्धा माताहरूले देशको प्रधानमन्त्री बन्न र मुलुकको मुहार फेरेर जनतालाई खुसी र सुखी बनाउन सफलता मिलोस् भनेर आशीर्वाद दिनुभएको थियो ।
अनौपचारिक रूपमा भएको शुभकामना आदानप्रदानका क्रममा नेपाली कांग्रेसका सहममन्त्री जीवन परियार, केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पूर्व केन्द्रीय सदस्य माधव चम्लागांई, कांग्रेसका स्थानीय नेता इन्द्रबहादुर थापालगायतले थापा दम्पतिलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय बासिन्दा र वृद्धाश्रमका सञ्चालक तथा सहयोगीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।