काठमाडौं । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गर्नुभएको छ। सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबीच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गर्नुभयो । उहाँले दुई दलबीचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताउनुभयो ।
‘सिङ्गो देशको सङ्कट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, उहाँले भन्नुभयो, ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’ उहाँले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले कांग्रेस एमाले समझदारी भएको दाबी गर्नुभयो ।
‘राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले एउटा गीत गाउनुभयो, फत्तेमानको । तर म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउन चाहन्छु ।’
उहाँले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ? ’बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप लगाउनुभयो ।